काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा संलग्न रहेको आरोप लगाउँदै हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन्।
बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री ओमप्रकाश अर्यालले जेनेरेसन जेड आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा भूमिका खेलेको दाबी गरेका छन्। उनका अनुसार शान्तिपूर्ण आन्दोलनमा सुनियोजित घुसपैठ गरी हिंसा भड्काउने कार्यमा अर्याल प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।
उनले लेखेका छन्, “प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कोसँग छन् भन्ने जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्छ। भ्रष्टाचार अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको आन्दोलनमा घुसपैठ गरी हिंसा फैलाउने काममा उनी प्रमुख स्टेकहोल्डर हुन्।”
बर्तौलाले गृहमन्त्री अर्यालमाथि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरूमा आगजनी गर्न निर्देशन दिएको आरोप पनि लगाएका छन्। उनका अनुसार, “शान्तिपूर्ण आन्दोलन भित्रको त्यही सम्बन्धका कारण अर्यालले मिहिनेत नगरीकनै गृहमन्त्री पद हत्याउन सफल भए।”
उनले आरोप लगाएका छन् कि गृहमन्त्री बनेलगत्तै अर्यालले आन्दोलनका क्रममा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएका थिए, जसका कारण मुलुकमा अराजकता र दण्डहीनता बढेको दाबी बर्तौलाले गरेका छन्।
प्रतिक्रिया दिनुहोस