काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूका धारणा नसकिएकाले आज पनि बैठक जारी राखिने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
उनका अनुसार बैठक आज दिउँसो १ बजे बोलाइएको छ।
बैठकमा सहभागीहरूले हालैको जेनजी युवा आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रममा केन्द्रित भएर धारणा राख्दै आएका छन्।
प्रवक्ता महतका अनुसार देशमा उत्पन्न चुनौती र त्यसबाट कांग्रेसले कसरी अगाडि बढ्ने भन्ने विषय बैठकको मुख्य एजेन्डा हो।
उनले भने, “अहिलेको परिवेश र घटनाक्रमले जुन चुनौतीहरू खडा गरेका छन्, त्यसबाट कसरी अगाडि बढ्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर हुनबाट जोगाउने भन्नेबारे छलफल भइरहेको छ।”
त्यस्तै, आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे पनि आजको बैठकमा छलफल भइरहेको महतले बताए।
उनका अनुसार, “केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा जानुअघि समान धारणा विकास होस् भन्ने उद्देश्यले छलफल भइरहेको छ।”
प्रतिक्रिया दिनुहोस