काठमाडौं। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भन्ने दाबीलाई प्रमाणित गर्न चुनौती दिएको छ।
सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ।
‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरिएको भिडिओ सामाजिक सञ्जालमा आएको छ। त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस