काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषिलाई कारवाही गर्ने बिषयमा दुविधा नराख्न आग्रह गरेका छन् ।
आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेर छलफल गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेकाले कुनै दुविधा नराख्न आग्रह गरेका हुन् ।
मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै सवै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । अहिले दलहरुसंगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ छ ।
त्यसैगरि मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । उनले मुलुक अहिले पनि ठूलो भ्याकुमा जान सक्ने जोखिम रहेकाले मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सवै गम्भीर हुनुपर्ने धारणा राखे ।
उनले अनलाइन सञ्चार माध्यम सूचना बिभागबाट दर्ता तथा नविकरणको काम सम्भवतः तिहार अघि नै सुरु हुने जानकारी दिए । मन्त्री खरेलले पत्रकारहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस