काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुने भएका छन्। देउवा दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने तयारीमा छन्।
कांग्रेसले आजको बैठकका लागि केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिलाई उपस्थित हुन आह्वान गरेको छ। बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समिति बसेर कार्यसूची टुंगो लगाइनेछ।
जेनजी युवा प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमण र आगजनी घटनापछि उपचाररत देउवा अस्पतालबाट बाहिरिएर आफन्तको निवासमा बस्दै आएका थिए। सोही घटनापछि उनी पहिलोपटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
आगामी महाधिवेशनका कार्यतालिका र साझा एजेन्डा तय गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको पार्टी स्रोतले जनाएको छ। मंसिरभित्र १५औँ महाधिवेशनको तिथि टुंग्याउनुपर्ने माग राख्दै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति नजुटेकाले कार्यसूचीमा अझै एकरूपता आएको छैन।
प्रतिक्रिया दिनुहोस