२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक छ : मन्त्री घिसिङ

मंगलवार , आश्विन २८, २०८२

पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताएका छन् ।

विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भने, “नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ । खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद् व्यवस्थापनलाई चुनौती दिएको छ । अब कुन ठाउँमा बस्ती बसाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरेर व्यवस्थापन गर्न आवश्यक छ ।”

उनले विपद् व्यवस्थापनलाई सामाजिक पक्षबाट पनि ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै नेपालको करिब ३० वटा नदी क्षेत्रको जल व्यवस्थापन गर्न सकिए सिँचाइ र खानेपानीको व्यवस्थापनलाई सहज बनाउन तथा बाढी नियन्त्रणमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर दिनेश भट्टले विपद् जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधारको बिमा गरिनुपर्ने भन्दै स्थानीय सरकार र नागरिक समुदायलाई सशक्त बनाउन आवश्यक रहेकामा जोड दिए । उनले विपद्का लागि काम गर्ने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने बताए ।

विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपी नेट)का अध्यक्ष डाक्टर राजु थापाले विपद्बाट जोगाउन उत्थानशील क्षेत्रमा लगानी बढाउँदै रैथाने ज्ञानको उपयोग र स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट