काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशको राजनीतिक घटनाकाक्रममा बिषयमा राजनीतिक दलहरुसँग छलफल गरेका छन् ।
बुधबार सिंहदरबारमा सभामुख घिमिरेले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा बिघटनका बिषयमा दलहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा एमालेले संसद पुनस्र्थापनामा जोड दिएको छ भने अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफुहरु निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए । छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अवको निकास संसद पुनस्र्थापना वा निर्वाचन नै भएको बताए । सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।
त्यस्तै एमाले नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनस्र्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए ।
त्यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीले भने संसद पुनस्र्थापना नभइ ताजा जनादेशमा जान सवै दलहरु तयार हुनुपर्ने बताए । उनले जेनजीको माग पुरा गन संविधान संशोधनका लागि तयार हुने हो भने मात्रै संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै माओवादी नेताहरुले अहिलेको अवस्थाको उचित निकास निर्वाचन नै भएको धारणा राखेका थिए भने नेकपा एकीकृत समाजवादीका नेताहरुले सरकारले निर्वाचनको वातावरण बनाउन सक्नुपर्ने उल्लेख गरेका थिए । प्रतिनिधिसभा बिघटनका बिषयमा सभामुख घिमिरेले निरन्तर छलफल गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस