काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै कारण तोकिएको समयमा निर्वाचन नहुने बताएका छन् ।
बुधबारबाट ललितपुरमा सुरु एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले बनेको वर्तमान सरकारले चुनाव गराउने बाटो नसमातेको बताएका हुन् ।
ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेको र संसद् विघटन समेत असंवैधानिक तरिकाले गरेको दोहोराए । असंवैधानिक ढंगले संसद् विघटन गर्नुहुँदैन भन्ने फैसला गर्नेहरुले नै अहिले आफैंले असंवैधानिक तरिकाले विघटन गर्ने काम योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको उनले बताए ।
उनले संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका उनले दाबी गरे । सर्वोच्च अदालतले यस अघि नै नजिर कायम गरिसकेकोले अहिलेको संसद् विघटन ठिक छ भनेर सोच्ने पनि नसकिने ओलीले बताए ।
तानासाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको उल्लेख गर्दै ओलीले अहिलेको असहज अवस्थामा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे । त्यसका लागि एमाले एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै ओलीले अब यसको रक्षा जनताबाट नै हुनुपर्ने बताए । उनले एमालेको नेतृत्वका बिषयमा भएका चर्चा प्रति असन्तुष्टि जनाए ।
अध्यक्ष ओलीले एमाले छाडेर गएका नेता कार्यकर्तालाई एमाले फर्कन समेत आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस