काठमाडौं । नेपाली कांग्रेसका १४औं महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।
कांग्रेस नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनका २२ सय ८८ प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए । विधानको धारा १७ (२) बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरुले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने बैधानिक प्रावधान रहेको उनले बताए ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफुहरुको हस्ताक्षर निवेदनका बिषयमा उचित निर्णय लिने धारणा राखे । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले बैधानिक रुपमा महाधिवशेन गर्न आफुहरुले बाटो खोलिदिएको तर्क गरे ।
घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफुहरुको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका युवा नेताहरुले हस्ताक्षर अभियान चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस