काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अहिलको अवस्थामा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै गएको भन्दै अवस्थामा राजनीतिक र व्यक्तिगत आग्रह पूर्वाग्रह भन्दा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरुका बीचमा वृहद राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिएको हो ।
जेन्जी समूह, राजनीतिक दलहरु र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर राष्ट्रिय सहमतिका लागि सार्थक पहल र संवादका लागि बैठकले आह्वान गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले परिवर्तित सन्दर्भमा पार्टीको मुद्दाहरु र राजनीतिक विकल्पहरुमा राजनीतिक दलहरु र विभिन्न पक्षसंग औपचारिक सम्वाद गर्न अध्यक्ष लिङ्देनलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै बैठकले वर्तमान राजनीतिक अन्यौलको सन्दर्भमा निर्वाचन समस्याको दीर्घकालीन समाधान नभएपनि प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपा अलग नरहने निर्णय गरेको लिङ्देनले बताए ।
बैठकले छठ पर्व पछि देशभर जनसम्वाद कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ भने केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने तथा केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको अध्यक्ष लिङदेनले बताए ।
त्यस्तै बैठकले अनुशासन समितिको सिफारिश बमोजिम राप्रपा जिल्ला कार्य समिति जुम्लाका अध्यक्षसहित चारजना नेतालाई एक वर्षको लागि निलम्वन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस