चितवन । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेसन जेड आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को संकेतको रूपमा व्याख्या गर्दै त्यसले माओवादी आन्दोलनका पुराना मागहरूसँग मेल खाने बताएका छन्।
बिहीबार बिहान चितवनको भरतपुरस्थित पार्टी जिल्ला कार्यालय प्राङ्गणमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवाहरूले उठाएका मुद्दा, हालको राजनीतिक अवस्था, वाम एकता र आगामी निर्वाचनबारे स्पष्ट धारणा व्यक्त गरे।
“युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्,” प्रचण्डले भने, “हाम्रो पार्टीले सुरुदेखि नै भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएको छ, अहिले त्यो आवाज जेनेरेसन जेडको स्वर बनेर उठ्नु गौरवको कुरा हो।”
उनले २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्रीको भूमिकामाथि तीव्र आलोचना गरे।
“युवाहरूको आन्दोलन शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा तयारी नगरेकाले स्थिति हिंसात्मक बन्यो,” प्रचण्डले भने, “कलेज ड्रेस लगाएका युवामाथि टाउको र छाती लक्षित गरी गोली हानिनु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद भयो।”
प्रचण्डका अनुसार माओवादी केन्द्रले सोही रात आकस्मिक बैठक बसेर आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्न र प्रधानमन्त्रीको राजीनामाको माग गर्ने निर्णय गरेको थियो।
“हामीले आन्दोलनलाई वैधानिकता दियौं र प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउन पहल गर्यौं,” उनले भने, “देशलाई शान्तिपूर्ण समाधानतर्फ लैजान माओवादी केन्द्र अग्रपंक्तिमा रह्यो।”
त्यसै क्रममा उनले आन्दोलनपश्चात सिंहदरबारमा भएको बैठकपछि सुरक्षाको जोखिमका कारण सेनाको सहयोगमा भित्रै सुरक्षित रहनुपरेको स्पष्ट पारे। “हामीलाई कसैले लगेका होइन, परिस्थितिको मूल्याङ्कन गरेर आफैं सुरक्षा खोज्यौं,” उनले स्पष्ट पारे। राजनीतिक दिशाबारे कुरा गर्दै प्रचण्डले अब देशको एकमात्र विकल्प निर्वाचन रहेको बताए।
“राष्ट्रपति, प्रधानमन्त्री, दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको बाटो हो भन्ने निष्कर्षमा पुगेका छन्,” उनले भने, “जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत नै रोज्ने छन्।”
उनका अनुसार संसद् पुनःस्थापनाको एजेन्डा अब गौण बनेको छ र एमाले बाहेकका सबै दलहरू निर्वाचनतर्फ उन्मुख छन्। “एमालेभित्र पनि बहुमत चुनावको पक्षमा छ,” उनले दाबी गरे, “ढिलोछिटो सबै दलहरू निर्वाचनमा जान्छन्।” पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रसङ्ग निकाल्दै प्रचण्डले विगतका गल्तीबाट कुनै आत्मसमिक्षा नभएको आरोप लगाए। “उनकै कारण ठूलो जनधनको क्षति भयो, तर आजसम्म कुनै पश्चाताप छैन,” उनले भने।
वाम एकताको विषयमा प्रचण्डले लामो समयदेखि चलिरहेको छलफल अब निष्कर्षमा पुग्न लागेको संकेत दिए। “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा केही दिनभित्र घोषणा हुनेछ,” उनले भने, “हाम्रो दीर्घकालीन लक्ष्य भनेको एमालेसहित सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो।”
आगामी निर्वाचनमा माओवादी केन्द्र अग्रस्थानमा आउने विश्लेषकहरूको आकलन उल्लेख गर्दै उनले भने, “तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्ने सम्भावना व्यापक रूपमा देखिएको छ।”
कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिंदै उनले माओवादी केन्द्र फेरि जनताको विश्वास जित्ने विश्वास व्यक्त गरे।
“अबको प्राथमिकता निर्वाचन हो,” प्रचण्डले भने, “हामी सबै एक भएर जनताको पक्षमा काम गर्नुपर्छ— माओवादी फेरि मुलधारको पार्टी बन्छ।”
प्रतिक्रिया दिनुहोस