२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठकः ७५ जनाले राखे धारणा, नेताको सम्पत्ति छानबिन गर्न माग

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।

ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो ।

आज ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा र सुझाव राखिसकेको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

धारणा राख्ने क्रममा केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताएका छन् । एमालेका सङ्गठन देशदेखि टोलसम्म भएकोले यो पार्टी कमजोर हुन नसक्ने उनको भनाइ छ ।

अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिन् । उनले पार्टीले अलग्गै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेनजी माग पनि सम्बोधन हुने र पार्टीमा समेत शुद्धीकरण हुने भनाइ राखिन् । ‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाऔँ, जसले नेताको सम्पत्ति छानबिन गरेर सार्वजनिक गरोस्’ काफ्लेको भनाइ छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । उनले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्ने जानकारी दिए ।

पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, पार्टीमा सुशासनका पक्षमा धारणा राखिरहेका छन्। बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यले भोलि धारणा राख्नेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट