काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको दोश्रो दिन १ सय ३४ जना सदस्यहरुले धारणा राखेका छन् ।
बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरुले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा सदस्यहरुले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुन:स्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए । संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालनका माध्यमबाट निर्णयमा पुराउनुपर्ने तर्क आएको उनले जानकारी दिए ।
गौतमले संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुन:स्थापना मात्रै हुन्छ भन्ने निष्कर्षमा केन्द्रीय कमिटी बैठक अघि बढेको उल्लेख गरे ।
निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्न नसकेकोमा पार्टी स्पष्ट रहेको बताए ।
सरकारलाई निर्वाचनको वातावरण बनाउन एमालेले अपिल समेत गरेको उनले बताए । जेनजी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारवाही गर्नुपर्नेमा एमालेको स्पष्ट मान्यता रहेको गौतमले उल्लेख गरे ।
एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान बस्ने र बाँकी सदस्यहरुले धारणा राखेपछि सम्भव भएसम्म शुक्रबार नै बैठक सम्पन्न गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस