२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रदीप पौडेलको प्रस्ताव : जेनजीको मुद्दा सम्बोधन देखि ‘डिजी युथ कांग्रेस गठन’ सम्म, अरु केके छन् ?

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राखे ।

उनले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिए । “जेनजी पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज छन्”, उनले भने, “हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ ।”

केन्द्रीय सदस्य पौडेलले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले युवा सहभागिता वृद्धिका लागि डिजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गरेका हुन् । “यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्नेछ”, उनले भने । पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव गरेका छन् ।

पौडेलले विभिन्न देशमा भएका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै जेनजी आन्दोलनबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिनसक्ने धारणा राखे । यसका लागि कांग्रेसले कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नुपर्नेमा उनको जोड थियो । नेता पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको पनि माग गरे ।

विद्यमान सङ्कटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति भएको आक्रमणको निन्दा गरे । उनले सभापतिद्वारा पार्टी बैठकमा असोज २८ गते पेस गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्नेसमेत बताए ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेकापौडेलले आफूले मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बिमामा सुविधा वृद्धि र विपन्न वर्गलाई राहतको सीमा बढाएर सुधार थालेको बताए । यसलाई पार्टीले आधिकारिक नीतिका रुपमा अघि बढाए स्वास्थ्यमा समाजवाद ल्याउन सकिने उनको तर्क थियो ।

‘सांसद सङ्ख्या घटाऔँ, जिल्ला समन्वय समिति खारेज गरौँ’

नेता पौडेलले अहिलेको सङ्घ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएका कारण धान्नसमेत जटिल र नागरिकमा असन्तुष्टि बढेको भन्दै पुनःसंरचनाको प्रस्ताव गरेका छन् । उनले खर्च कटौती तथा छरितो सरकारको अवधारणा प्रस्तुत गरेर प्रतिनिधिसभा सदस्यको सङ्ख्या २०१ र मन्त्रिमण्डलमा बढीमा १५ जना बनाउनुपर्ने प्रस्ताव पनि गरेकाछन्। उनले प्रदेशसभाको आकार ४० प्रतिशत कम गर्ने र प्रदेश मन्त्रीमण्डल बढीमा पाँच सदस्यीय बनाउन आवश्यक रहेको धारणा राखेका छन् ।

स्थानीय तह ४०० मा झारेर खर्च कटौती तथा प्रभावकारी सेवा दिन सकिने भएकाले जिल्ला समन्वय समितिको औचित्य नरहेको भन्दै खारेज गर्नुपर्ने उहाँको प्रस्ताव छ । नेता पौडेलले स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखजस्ता पद बोझिलो देखिएको भन्दै त्यसमा कटौतीको प्रस्ताव गरेका छन् ।

महाधिवेशनको मिति कुनै पनि बहानामा नसारौँ

नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

“यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ । नवयुवाको प्रवेश बढ्नेछ । यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ”, उनले भने ।

विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीलाई धन्यवाद दिँदै उनले अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशन पर म्याद थप्ने आदि विषयले पार्टी र देशलाई गम्भीर सङ्कटमा धकेल्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट