काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको अतित, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्दै सुधारका ठोस प्रस्ताव प्रस्तुत गरेका छन्।
बैठकको सुरुवातमा उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बधाई दिँदै सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजू देउवालाई शीघ्र स्वास्थ्य लाभको कामना गरे। त्यसपछि उनले आफ्नो विचार दुई भागमा राखे — पहिलो, हामी कहाँ चुकेँ ? दोस्रो, अब के गर्ने ?
कोइरालाले स्पष्ट शब्दमा भने, “हामी चुकेका हौं, असफल भएकै हौं, यो विवादको विषय होइन, परिणामले नै देखाइसक्यो।” उनले पार्टीभित्र गल्ती भएको थाहा पाउँदापाउँदै पनि त्यसलाई सुधार नगरी उल्टै निरन्तरता दिएको आरोप लगाए। उदाहरणका रूपमा उनले २०७४ सालमा माओवादी नेताकी छोरीलाई भरतपुर महानगरको मेयर पदमा समर्थन गर्नु नातावादको औपचारिक सुरुवात भएको बताए।
उनका अनुसार, गठबन्धनका नाममा पार्टीको हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिइयो, पार्टी नेतृत्व केही व्यक्तिको निजी महत्वाकांक्षामा बन्धक बन्यो र कार्यकर्ताप्रतिको अपमानजनक व्यवहार सामान्य जस्तो बनाइयो। उनले भने, “कांग्रेस विचार र सिद्धान्तको केन्द्र नभई अवसर खोज्नेहरूको भीड बन्दै गयो। विचार, नीति र भविष्य सबै भ्रष्टाचारमा डुब्यो।”
कोइरालाले अहिलेको अवस्थाको कारण दशकौंदेखि उही अनुहार, उही पात्र र उही प्रवृत्तिलाई निरन्तरता दिनु रहेको बताए। “रुख पुरानो भए पनि नयाँ पालुवा पलाउन दिइएन, नयाँ पुस्तालाई ठाउँ दिइएन, यही कारण हामी यहाँ आइपुगेका हौं,” उनले भने।
उनले कांग्रेसका युवा पदाधिकारीहरूप्रति पनि निराशा व्यक्त गर्दै भने, “हामीले उनीहरूसँग धेरै आशा गरेका थियौं, तर उनीहरूले एजेन्डा उठाउने काम गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेनन्।” अब कांग्रेसले सामूहिकतामा चल्ने, आत्मसमीक्षा गर्ने र मन, वचन र कर्मले सच्चिने निर्णय गर्नुपर्ने उनले जोड दिए।
“सच्चिने कि सक्किने भन्ने प्रश्न यही केन्द्रीय समिति बैठकको मूल एजेन्डा हुनुपर्छ,” उनले भने, “यदि हामी फेरि पनि सच्चिएनौं भने अर्को २४ गते फेरि आउनेछ — मिति फरक होला, तर परिणाम उही हुनेछ।”
अबको मार्ग स्पष्ट गर्दै उनले भने, “हामी सच्चिनै पर्छ, सुधार गर्नैपर्छ, रुपान्तरण गर्नैपर्छ — र त्यसको सुरुवात आफैंबाट हुनुपर्छ।” बैठकमा कोइरालाले सुधारका ठोस प्रस्ताव पनि प्रस्तुत गरेका थिए ।
पहिलो, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउँदै जेन्जी आन्दोलनको मुख्य मागलाई कांग्रेसले स्वामित्व लिनुपर्ने। दोस्रो, भ्रष्टाचार नियन्त्रणलाई पार्टीको नम्बर एक एजेन्डा बनाउनुपर्ने र यसका लागि राज्यका निकायहरूलाई औपचारिक दबाब दिनुपर्ने। तेस्रो, पूर्ण महाधिवेशन को तयारी तुरुन्त थाल्नुपर्ने र पार्टीभित्र आमूल सुधारका लागि यही नै एक मात्र उपाय भएको बताए। चौथो, नयाँ पुस्तालाई अघि ल्याउने नीति लागू गर्दै पटक–पटक मन्त्री, सांसद वा प्रधानमन्त्री भएका नेताहरूलाई पाँच वर्षका लागि अभिभावक भूमिकामा लैजानुपर्ने सुझाव दिए। पाँचौं, भ्रातृ संगठन पुनर्संरचना गर्दै सबै संगठन विघटन गरेर नयाँ मापदण्डमा पुनर्गठन गर्नुपर्ने। र छैटौं, स्वतन्त्र अनुगमन समिति गठन गरेर पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिको गतिविधि निगरानी गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।
अन्त्यमा उनले वर्तमान सरकारको जिम्मेवारी चुनाव सम्पन्न गर्नु रहेको भन्दै कांग्रेसले त्यसमा खबरदारी र सहयोग दुवै भूमिका निर्वाह गर्नुपर्ने बताए।

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend