काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्व प्रगाढ प्रेम र आत्मीय सम्बन्धको प्रतीक भएको बताएका छन् ।
शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै बस्नेतले यी चाडपर्वले प्रकृति, देवता, मान्छे र पशुबीचको सम्बन्धलाई एकआपसमा जोड्ने, पवित्र र प्रगाढ बनाउने काम गरेको बताएका हुन् ।
बस्नेतले भने, 'दीपावली सामाजिक, साँस्कृतिक र धार्मिक महत्वको चाड हो । अध्याँरोमाथि उज्यालोको विजयको प्रतीक हो । पाँच दिनसम्म मनाइने यो पर्वले पारिवारिक सम्बन्ध खासगरी दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई जीवन्त र बलियो बनाउन मद्दत गर्छ ।'
नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाइएको दिनको सम्झनामा मनाइने नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् भएको भन्दै बस्नेतले नेपाल संवत् ११४६ को शुभकामना दिएका छन्।
त्यसैगरी छठ पर्वको आफ्नै र विशेष महत्व रहेको भन्दै सूर्यका कारण पृथ्वीमा जीवनको अस्तित्व सम्भव भएको यथार्थ स्विकार गर्दै सूर्य उपासना गरेर यस पर्व मनाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस