सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

टीएमटी उत्पादन र मेल्टिङ युनिट स्थापना गर्दै आरती स्ट्रिप्स, आयात घटाउने अपेक्षा

टीएमटी उत्पादन र मेल्टिङ युनिट स्थापना गर्दै आरती स्ट्रिप्स, आयात घटाउने अपेक्षा

विराटनगर । भारतीय लगानीमा सञ्चालित आरती स्ट्रिप्स प्रालिले तीन वर्षको अन्तरालपछि पुनः टीएमटी बार उत्पादन सुरु गर्ने तयारी गरेको छ । कम्पनीले आगामी अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै बजारमा विभिन्न साइजका टीएमटी बार उपलब्ध गराउने लक्ष्य लिएको छ ।

उद्योगका महाप्रबन्धक जीवनराज तिम्सिनाका अनुसार, कारखाना परिसरमा आवश्यक पूर्वाधार तयार भइसकेकाले उत्पादन पुनः सुरु गर्न कुनै ठूलो चुनौती छैन । उनले भने, “हामीसँग इटलीबाट ल्याइएको अत्याधुनिक मेसिन पूर्ण रूपमा सञ्चालनयोग्य अवस्थामा छन्, जसलाई तुरुन्तै सञ्चालन गर्न सकिन्छ ।”

आरतीले १८ महिनाभित्र आफ्नै मेल्टिङ युनिट स्थापना गर्ने योजना पनि अघि सारेको छ । यसका लागि करिब ५० करोड रुपैयाँसम्मको अतिरिक्त लगानी आवश्यक पर्ने बताइएको छ । मेल्टिङ युनिट सञ्चालनमा आएपछि उद्योगले स्वदेशमै बिलेट उत्पादन गरी आफ्नै टीएमटी प्रशोधन गर्नेछ, जसले आयात निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

तीन वर्षअघि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एकैपटक तीनवटा मेल्टिङ युनिटसहितका स्टिल उद्योग सञ्चालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकी आरतीले टीएमटी उत्पादन बन्द गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमार्फत मेल्टिङ–आधारित स्टिल उद्योगलाई दिइएको कर छुटले बिलेट–आधारित उद्योगहरू दबाबमा परेका थिए । त्यतिबेला पूर्वाञ्चलमा मुरार्का समूहको पशुपति आइरन मात्रै मेल्टिङ–आधारित उद्योग थियो ।

तर सो नीतिपछि गोल्छा समूहको हुलास वायर, गोल्छा–रिजाल–राठी समूहको स्वस्तिक रोलिङ मिल्स र शारडा–राठी समूहको प्रिमियर स्टिल गरी तीन नयाँ मेल्टिङ उद्योग सञ्चालनमा आए ।

पछिल्ला वर्षहरूमा अर्थमन्त्रीहरू वर्षमान पुन र डा. प्रकाशशरण महतले कर संरचना परिमार्जन गर्दै बिलेट–आधारित उद्योगहरूलाई पनि प्रतिस्पर्धी बनाउन सकिने नीति अवलम्बन गरेपछि आरतीले पुनः टीएमटी उत्पादनमा फर्कने निर्णय गरेको हो । नयाँ महसुल नीतिले बिलेट र स्पन्ज आइरनबीचको लागत अन्तर घटाएपछि बजारमा सन्तुलन कायम भएको छ ।

तीन वर्षअघि सम्म आरती स्ट्रिप्सले ‘प्रिमियम टीएमटी’ ब्रान्डमार्फत बजारमा राम्रो स्थान बनाएको थियो । महाप्रबन्धक तिम्सिनाका अनुसार, “हाम्रो उत्पादन अन्य ब्रान्डभन्दा प्रतिकिलो ३ देखि ५ रुपैयाँसम्म महँगो हुँदासमेत ठूला हाइड्रोपावर र पूर्वाधार परियोजनाले आरतीको टीएमटीलाई प्राथमिकता दिने गर्थे ।”

उनका अनुसार आरतीले प्रयोग गर्ने ‘प्राइम क्वालिटी’ बिलेट र इटालियन प्रविधिबाट निर्मित मेसिनका कारण उत्पादन गुणस्तरका हिसाबले कोशी प्रदेशमा आरती अद्वितीय रहँदै आएको छ ।

सन् २००२ मा कर्कटपाता उत्पादनबाट व्यवसाय सुरु गरेको आरती स्ट्रिप्स अहिले सीआर सिट र स्क्वायर पाइप समेत उत्पादन गर्दै आएको छ । हालसम्म कम्पनीमा करिब ७ अर्ब रुपैयाँको लगानी पुगेको छ ।

गत आर्थिक वर्षमा आरती स्ट्रिप्सले १८ अर्ब ५० करोड रुपैयाँको कुल कारोबार गरेको थियो । जसमा ९ अर्ब ९४ करोड रुपैयाँ निर्यात र ८ अर्ब ४७ करोड आन्तरिक बिक्री गरेको थियो । सो वर्षमा कम्पनीले ११० करोडभन्दा बढी भ्याट र ४८ करोड रुपैयाँ विद्युत् महसुल बुझाएको जनाएको छ ।

हाल आरतीमा १,१०० जना प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगका अनुसार, पुनः उत्पादन सुरु भएपछि रोजगारीको अवसर अझै बढ्ने र कोशीमा स्टिल उद्योगमा नयाँ प्रतिस्पर्धात्मक वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend