काठमाडौं । नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत समाजवादी लगाएतका दलसँग एकता गर्ने निर्णय गरेको छ ।
शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले एकताका लागि प्राविधिक तथा संगठनिक बिषयमा छलफल भएको भन्दै कार्तिक १७ गते बस्ने केन्द्रीय बैठकले एकताको अन्तिम निर्णय गर्ने बताए ।
सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीचमा एकता हुने बताए । त्यस्तै बिप्लव नेकपाबाट बिद्रोह गरेका शक्तिसँग पनि पार्टी एकताका लागि कुराकानी भइरहेको उनले बताए ।
उनले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने भएकाले एकताका लागि ढिला नगर्ने जिकिर गरे ।
उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सिंगै एकतामा ल्याउने प्रयास गरेको बताए । एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस