काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अन्य दलहरुसंगको एकताप्रति असहमति जनाउँदै छुटै प्रगतिशील अभियानको घोषणा गरेका छन् ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको जिकिर गरे ।
उनले माओवादी आन्दोलनपछि नेपालमा कम्युनिष्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख गरे ।
उनले पार्टी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको टिप्पणी गर्दै उनले क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गएकाले नयाँ पुस्तालाई समेट्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने बताए ।
शर्माले प्रगतिशील अभियान, नेपालले स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको जानकारी दिए । उनले माओवादीको महाधिवेशन कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको बताए ।
उनले एकताको नाममा महाधिवेशनलाई टार्ने काम फेरी पनि नेतृत्वबाटै भएकाले यसले जनमत प्राप्त गर्न नसक्ने ठोकुवा गरे । प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको उनको टिप्पणी छ ।
पत्रकार सम्मेलनमा माओवादी नेता राम कार्कीले पार्टी नेतृत्वले गलत निर्णय लिदा आफुहरु त्यसको विपक्षमा उभिनु परेको बताए । एक थान नयाँ पार्टी मात्रै खोल्ने आफुहरुको योजना नभएको भन्दै उनले गल्ती स्वीकार गरी अभियान चलाउने बताए ।
उनले अहिलेसम्म पार्टी नेतृत्वलाई सुधार्न नसकेको भन्दै माफी समेत मागे । आफूहरुको अभियानमा एकतावद्ध हुन उनले आग्रह गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend