काठमाडौं । जेनजी आन्दोलनका अगुवा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट राजीनामा दिन चेतावनी दिएका छन् ।
जेनजी आन्दोलनका माग सम्बोधन नगरेको र हत्यारा तथा भ्रष्टाचारीहरूलाई कारबाही नगरी उल्टै जेनजीहरूलाई कारबाही गरेको आरोप लगाउँदै उनले गृह मन्त्रालयको नेतृत्व असफल भएको टिप्पणी गरेका हुन्।
गुरुङले सामाजिक सञ्जालमार्फत् ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकमा लेख्दै भनेका छन् — “सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आँसु सम्झनुहोस्, काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्।”
उनका अनुसार आन्दोलनको दुई महिना बितिसक्दा पनि कुनै हत्यारा वा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कारबाही नभएको प्रमाणित हुँदै गएको छ। उनले लेखेका छन् — “देशको हितका लागि लड्दा मैले भ्रामक समाचार र चरित्रहतासम्मको अपमान सहनु पर्यो, तर अब तपाईंप्रति आशा हराइसकेको छ।”
साथै गुरुङले जेनजी आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नका लागि नभएको पनि स्पष्ट पारेका छन् । उनले चेतावनी दिँदै भनेका छन् — “यदि नेपाली जनता र जेनजीको माग सम्बोधन भएन भने यो पटकको चुनाव हुन दिइने छैन।”
पोस्टमा उनले युवा पुस्ताको चेतना र जनताको धैर्यलाई बेवास्ता नगर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस