काठमाडौं । रामकुमारी झाँक्रीले आफूलगायतका ६ नेताहरूमाथि कारबाही गरेर माधव कुमार नेपालले आफ्नै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा झाँक्रीले लेखेकी छन्, “आफ्नै बेइज्जती हुने कारबाही त नगर्नुहुन्थ्यो कमरेड ? पार्टी विघटन भइसकेपछि कारबाहीको कुनै अर्थ रहन्छ र ?”
उनले व्यङ्ग्य गर्दै थपेकी छन्, “जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशका लागि जीवन र जवानी अर्पण गर्नेले लाने त एउटै कुरा हो-एउटा स्मृति, चिया पसलमा दुई जना मान्छेले गर्ने कुरा । आफ्नै मलामी त कसले पो देख्छ र ?”
झाँक्रीले नेपाललाई अन्तिम कर्मका लागि धन्यवाद दिँदै शुभकामना समेत दिएकी छन्। उनले लेखेकी छन्, “हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि। बाँकी जीवन सुखद रहोस्, परिवारमा शान्ति र सुस्वास्थ्य रहोस्। तपाईँ जहाँ रहनुहुन्छ, हाम्रो अभिभावककै रूपमा सम्झिनेछु।”
त्यस्तै, अर्का नेता दामोदर अर्यालले पनि सामाजिक सञ्जालमार्फत नेपालमाथि प्रश्न उठाएका छन्। उनले पार्टी विघटन भएको भोलिपल्ट गैरकानूनी रूपमा पार्टीको लेटरहेड प्रयोग गरिएको भन्दै टिप्पणी गरेका छन्, “पार्टी नै नहुँदा पनि लेटरहेड प्रयोग गर्न अप्ठ्यारो लागेन ?”
प्रतिक्रिया दिनुहोस