काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको ल्याटरल इन्ट्री प्रणाली कमजोर रहेको बताएका छन्। उनले केन्द्रीय समिति बैठकमा आफूले पार्टीभित्र सुधारका लागि जिम्मेवारी लिन तयार रहेको बताएका छन्।
उनले भने, “हाम्रो पार्टी नन–पोलिटिकल र प्रोफेसनल व्यक्तिहरूलाई भित्र्याउन निकै कमजोर छ। विदेशमा रहेका नेपाली युवाहरू देश फर्केर हेर्न पनि चाहँदैनन्, र नेपालमा रहेका परिवारहरू समेत पार्टीसँग असन्तुष्ट छन्।” उनले भने विदेशमा रहेका युवा आफ्ना छोराछोरीको फोनमार्फत मतदान गर्छन्, हाम्रो भाषणले होइन।
उनले पार्टीले नयाँ पुस्तालाई स्वागत नगर्दा प्रतिस्पर्धामा कमजोर हुने चेतावनी पनि दिएका छन्। “अन्य दलहरूले पेशेवर, उद्यमी र अनुसन्धान क्षेत्रमा सफल व्यक्तिहरूलाई भित्र्याइरहेका छन्। कांग्रेसले सदस्यताको १० वर्षे पर्खाल लगाएर यस्ता प्रतिभाशाली अनुहारहरूलाई रोकिरहेको छ,” उनले भने।
चौधरीले वर्तमान पार्टीको प्राथमिकता टिकट वितरणमा अल्झिएको आरोप लगाउँदै, पार्टीको रणनीति नयाँ पुस्ता र जेन–जेडको भावनासँग मेल खाने गरी तयार गर्नुपर्ने बताए। उनले थपे, “यदि हामी नयाँ पुस्ताको भावना सम्बोधन गर्न सक्दैनौं भने, जुनसुकै पक्षले जिते पनि पार्टी हार्नेछ।”
चौधरीले पार्टीभित्रको परम्परागत सोच र केवल राजनीतिका लागि राजनीतिमा फसिनु अबको चुनौती भएको र कांग्रेसले नयाँ पुस्ता, पेशेवर र उद्यमशील नेतृत्वलाई अवसर दिनुपर्ने बताएका छन्।
उनले केन्द्रीय समितिलाई नयाँ पुस्तालाई भित्र्याउन, पारदर्शिता बढाउन र युवा असन्तुष्टिलाई सम्बोधन गर्ने रणनीति तत्काल बनाउन आवश्यक भएको बताए।
प्रतिक्रिया दिनुहोस