काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको बताएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक रहेको उनीहरुले बताएका छन् ।
राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको संयुक्त विज्ञप्तिमा बताएका छन् ।
राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको भन्दै उनीहरुले मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन लागेको बताएका छन् ।
त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने र पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्पष्ट रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस