काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी छन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
यसअघि बिहानै प्रदेश प्रमुख भण्डारी स्वास्थ्य कारण जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। सो क्रममा मुख्यमन्त्री सोनलले उनलाई बिदाइ गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।
पत्रकारहरूसँग कुरा गर्दै सोनलले प्रदेश प्रमुख स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए।
“उहाँको छिट्टै स्वास्थ्य लाभ होस्, त्यसपछि राजनीतिक प्रक्रिया अघि बढ्छ,” मुख्यमन्त्री सोनलले भनेका थिए।
तर केही समयमै प्रदेश प्रमुख भण्डारीको कार्यालयले एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको सूचना सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस