काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले), संघीय समाजवादी पार्टी र राप्रपाको सहभागितासहित नयाँ सरकार गठन भएको छ।
सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् गठन भएको हो।
सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी, र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका छन्। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशसभामा एक–एक सिट मात्र रहेको छ।
यसअघि संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर, स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित पानस होटलमा नै यादवलाई शपथ खुवाएको घटनापछि उनको आलोचना समेत सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस