काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिनको स्थगनपछि आज (मंगलबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो।
असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल जारी छ। करिब एक महिनादेखि चलिरहेको बैठकमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बीच विवाद पेचिलो बन्दै गएको छ।
संस्थापन पक्षले नियमित महाधिवेशन नगर्ने योजना बनाएको छ भने विपक्षले विशेष महाधिवेशन हुनैपर्ने अडान राखेको छ। अहिले कांग्रेसका दुई पक्षले छुट्टाछुटै महाधिवेशन कार्यतालिका पनि प्रस्तुत गरिसकेका छन्।
बैठकले आगामी महाधिवेशनको तालिका र प्रक्रिया निर्धारण गर्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस