२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मंसिरभित्रै कांग्रेसको नियमित महाधिवेशन गर्न नेता दीपक गिरीको माग

मंगलवार , कार्तिक २५, २०८२

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।

उनले भने, ‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारी दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै वध गर्न सहयोग गर्नुभयो । यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ को विध्वंस कांग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो। त्यसैले समयमै हामीले यो बुझेर कदम चाल्नुपर्छ ।’

उनले पार्टीलाई ‘बिजनेस एज युजुएल’ को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बिचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गिरीले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिनको माग पनि गरे । उनले ‘गत भाद्र २४ गते आन्दोलनको आवरणमा कांग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग पनि गरे ।

उनले देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि उल्लेख गरे । गिरीले भने, ‘माझीहरूले सल्लाह गर्दागर्दै सात गाउँ डुबे’ भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छु । त्यसैले अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन ।’

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको उदाहरण दिँदै कांग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस संसद् पुनः स्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि आग्रह पनि गरे ।

कांग्रेस बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा धारणा राख्दै गिरीले देशभरीका महाधिवेशन प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मङ्सिर महिनाभित्रै नियमित महाधिवेशन गर्ने कार्यपालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग गरे ।

यसैगरी, गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै कांग्रेसीलाई वर्तमान राजनैतिक परिस्थितिमा आम माफी दिन पनि उनले आग्रह गरे ।

पूर्व मन्त्री समेत रहेका निवर्तमान सांसद गिरीले भ्रष्टाचारको अन्त्य, पारदर्शिता, र नेतृत्वमा जबाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औँल्याए ।

उनले नयाँ नेपाल बनाउन नयाँ कांग्रेस बनाउनै पर्ने बताउँदै पार्टी सुधारको प्रयास गाउँ तथा नगर तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेसले पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पुरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बिचमा जान अब ढिला गर्न नहुने पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट