काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रतिनिधिसभा पुनस्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।
उनले पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरे ।
उनले वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको बताए । अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताए ।
जेनजी आन्दोलनको क्रममा अपराधीहरु जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको धारणा राखे । सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उनको भनाई छ ।
अधिकारीले प्रतिनिधिसभा पुनस्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने बताए ।
अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरु एकताबद्ध हुनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस