काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, संवाद र सहकार्यका पहलबारे छलफल हुने बताइएको छ। विशेषगरी आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन केन्द्रित छलफल हुने पार्टी स्रोतले जानकारी दिएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्था सम्बन्धमा पनि जानकारी दिइनेछ। साथै, सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरी प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको छ।
पार्टीले आगामी निर्वाचनका लागि वाचापत्र तयार गर्ने कार्यदलको विस्तार, संविधान परिमार्जन कार्यदलको संयोजक तोक्ने विषय, मिडिया अध्ययन कार्यदल गठन, र राजनीति अध्ययन कार्यदल बनाउने विषयमा पनि छलफल गर्नेछ।
यसका अतिरिक्त, उम्मेदवार छनौट सिफारिस समिति विस्तार, राजनीतिक दल–संगठन अध्ययन कार्यदल गठन, र जेन्जी लक्षित अभियान सञ्चालनबारे बैठकमा एजेन्डा तय हुनेछ।
पार्टीले यी सबै निर्णयमार्फत आगामी निर्वाचन तयारीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस