बारा । नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ ।
मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरूले विरोधका लागि विमानस्थल क्षेत्रमा जुलुससहित उपस्थित भएका थिए ।
सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी समूहलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो । स्थिति केहीबेर तनावपूर्ण बनेपछि विमानस्थल क्षेत्रमा जनपथ तथा सशस्त्र प्रहरीले ठूलो संख्यामा सुरक्षा घेरा कडा पारेका छन् । झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम आज दिउँसो १२ः३० बजेबाट बेलुका ८ः०० बजेसम्म जीतपुर–सिमरा उपमहानगरपालिकाको संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको जनाएको छ।
कर्फ्यु आदेशअनुसार गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ पूर्णतः निषेध गरिएको छ।
सिमरा विमानस्थल घेराउ गर्ने क्रममा जेनजी युवाहरू र सुरक्षाकर्मीबीच तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आवश्यक परेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारी तथा हवाई टिकट भएका यात्रुलाई सुरक्षाकर्मीले विशेष सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिन विमानस्थल क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस