काठमाडाैं । फिफा विश्वकप छनोटको चरणको खेलमा नेपालले साेमबार राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने यो खेलले नेपालको युवा टिमको खास परिक्षण गर्नेछ । खेल राति पौने १० बजे शुरु हुने छ ।
पहिलो खेलमा चाइनिज ताइपेइलाई दुई शुन्यले पराजित गरेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।
फिफा बरियतामा नेपाल भन्दा ७६ स्थान माथि रहेको जोर्डनको टिमलाई नेपाल भन्दा बढि दबाव हुनेछ । हाल फिफा बरियताको ९५ औं स्थानमा रहेको जोर्डन फुटबल टिम कुवेत पुग्नु अगाडि बहराइनमा प्रशिक्षण क्याम्प राखेको थियो । यसका साथै उनले दुई वटा मैत्रीपुर्ण खेल पनि खेलेको थियो । जसमा भियतनामसँग एक एक गोलको बराबरी खेल्दा यूएईसँग भने पाँच एकले पराजित भएको थियो । त्यो भन्दा अगाडी उसले मार्चमा तीन अन्तराष्ट्रिय खेल खेलेको थियो । जसमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो भने लेबनानलाई एक शून्यले पराजित गरेको थियो । यस्तै बहराइनलाई दुई एकले हराएको थियो ।
विश्वकप छनौटको लक्ष्यमा रहेको जोर्डनले प्रतियोगितामा पहिलो खेल नेपालसँग नै खेल्न लागेको हो । त्यसपछि उसले कुवेत र अष्ट्रेलियासँग खेल्नेछ । यो भन्दा अगाडी जोर्डन र नेपालले २०१९ मा खेल्दा नेपाल तीन शुन्यले पराजित भएको थियो । त्यो बेला र अहिलेको नेपालको टिममा निकै परिवर्तन भइसकेको छ । तर जोर्डन टिममा भने खासै परिवर्तन आएको छैन । त्यो बेला नेपाल एक सय ६१ औं बरियतामा थियो भने जोर्डन ९६ औं स्थानमा थियो ।
जोर्डनमा लिग हुन नसकेको करिव सात वर्ष हुन लागेको छ । प्रतिस्पर्धात्मक तरिकाले घरेलु लिग खेल्न नपाएकाले पनि टिममा परिवर्तन भएको छैन । पुरानै टिमलाई नै यो पटक कुवेत लगिएको छ । टिममा नयाँ खेलाडी खासै छैनन् ।
नेपाल र जोर्डन अहिलेसम्म तीन पटक खेलेका छन् । जसमा नेपालले दुई खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । सन् २०११ मा भएको विश्वकप छनौटको खेलमा नेपाल उसको घरेलु मैदानमा नौ शुन्यको भारी अन्तरले हारेको थियो । तर दोस्रो लेगमा घरेलु मैदानमा खेल्दा नेपाल एक एक गोलको बराबरी गर्न सफल भएको थियो । नेपालका लागि भरत खवासले गोल गरेका थिए ।
त्यसपछि २०१९ को अक्टोबरमा नेपालले जोर्डनसँग उसकै मैदानमा खेल्दा तीन शुन्यको हार ब्यहोरेको थियो । सोमबार राती हुने खेलमा यदि नेपालले जोर्डनसँग बराबरी मात्र खेल्न सकेको खण्डमा पनि ठूलो उपलब्धि हुनेछ । यता जोर्डनका लागि त्यो भनेको निकै ठूलो धक्का हो ।