एजेन्सी । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा मंगलबार भएको खेलमा विजयी सुरुवात गरेको छ ।
जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो । हुमेल्सले २० औं मिनेटमा गरेको आत्मघाती गोलले नै फ्रान्सलाई विजयी गरायो । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।
दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।
जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो ।
यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।