२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले कमायो १० लाख

मंगलवार , पौष ८, २०८२

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो ।

साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ ।

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए । उनले भने, “एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।”

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले भने, “उहाँले धनगढी, वालिङ लगायतका क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापन तथा सेग्रीगेसनको काम उदाहरणीय रुपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सहयोगमा हामीले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने तथा नकुहिने फोहरभित्र विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता वस्तु छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालेका हौँ ।”

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ ।

करिब ३२ वर्षसम्म फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, “विगतको मेरो कार्यकालमा प्रयत्न गर्दा गर्दै समस्या आयौँ, जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।”

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट