काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।
मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै सुवेदीले प्यालनसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष राजेन्द्र ओली र उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाको उम्मेदवारी घोषणा गरिएको छ । अन्य पदका उम्मेदवारको नामावली भने पछि घोषणा गरिने सुवेदीले जानकारी दिए ।
उनले आफ्नो समूहमा बिभिन्न जिम्मेवारीमा दशकौं बिताएका योग्य अनुभवी र परिपक्व व्यक्तिहरु रहेको बताए । संघको संस्थागत बिकास एवं समग्र जिल्लाको बिकासमा योगदान पुराउनले उदेश्यका साथ निर्वाचनमा होमिएको उनको भनाइ छ ।
यसअघि उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि सिरीष पन्त समूहले समेत उम्मेदवारीको घोषणा गरिसकेको छ । संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ । संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस