विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता– २०८२ बुधबारबाट सुरु हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा पुस ९ गते देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता बुधबारबाट सुरु हुने भएको हो ।
मंगलबार प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्य टिकाराम पुरीले बुधबारबाट प्रतियोगिता सुरु हुने बताएका हुन् । प्राचार्य पुरीले महानगरसँगको सहकार्यमा प्रतियोगिताको संयोजन र समन्वय एभरेष्ट माध्यमिक विद्यालयले गर्ने गरि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
उनले प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्देशन समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रतियोगिता महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयको उत्साहपूर्ण सहभागिता रहने विश्वास व्यक्त गरे ।
उनले प्रतियोगितालाई विराटनगरको चिनारीको रूपमा अगाडि बढाउन सम्पूर्ण विराटनगरवासीको साथ–सहयोग आवश्यक पर्ने भएकोले सबै क्षेत्रले सम्भव भएसम्मको सहयोग गर्न अनुरोध गरेका छन् ।
प्रमुख कोइरालाले महानगरले प्रतियोगिताका लागि छुट्याएको १० लाख रकममा थप आउने रकमको दायित्ववहन गर्दै प्रतियोगिता संयोजनको जिम्मेवारी ग्रहण गरेकोमा एभरेष्ट माध्यमिक विद्यालयलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेलले प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि स्पर्धा हुने जानकारी गराए । ढुंगेलले प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुने बताए ।
प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस