रौतहट। रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विस्फोट हुँदा हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय रहेका छन्।
प्रहरीका अनुसार विस्फोट अत्यन्त शक्तिशाली रहेकोले डिस्टिलरी परिसरमा पनि क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइन्छ र प्रारम्भिक उपचारपछि उनीहरूलाई एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ।
प्रहरीले घाइते र मृतकको संख्या बढ्न सक्ने सम्भावना औँल्याउँदै विस्फोटको कारण अझै खुल्न बाँकी रहेको जनाएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ र सुरक्षाकर्मीले थप क्षति रोक्न घटनास्थल नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा बनाएका छन्।
प्रतिक्रिया दिनुहोस