काठमाडौं । निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् ।
आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुने कार्यक्रम तय भएको हो।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घटेका विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियाअनुसार उनले सोमबार आयोगको टोलीसमक्ष आफूलाई जानकारीमा रहेका विषय र घटनाको वस्तुस्थितिबारे स्पष्ट पार्ने उनको सचिवालयले जनाएको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान तथा भदौको घटनासँग सम्बन्धित विभिन्न पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस