२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन मोरङमा प्रहरीले चलायो गोली, २ जना पक्राउ

सोमवार , पौष १४, २०८२

विराटनगर । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार राति मोरङमा गोली चलाएको छ । केराबारी गाउँपालिका–५ लाफा टोलमा राति ११ बजेतिर प्रहरीले हवाई फायर गरेको हो ।

प्रहरीले गोली चलाएर गाँजा लोड गरिएको एम्बुलेन्समा नियन्त्रणमा लिएको छ । यस घटनाले गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको गम्भीर घटना सार्वजनिक भएको छ । एम्बुलेन्समा लुकाइछिपाइ ल्याएको १६ पोका गाँजासहित प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

एम्बुलेन्सको प्रयोग गरेर धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीबाट असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा संयुक्त टोली खटिएको थियो । शंकास्पद अवस्थामा आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोज्यो ।

तर, प्रहरीलाई देख्नसाथ एम्बुलेन्स छाडेर त्यहाँ सवार रहेकाहरु फरार हुन खोजेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

उनका अनुसार भाग्न खोजेका दुवै जनालाई गोली चलाएर नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गर्ने चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको जानकारी एसपी कटवालले दिए ।

उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा सञ्चालित रहेको पाइएको छ । एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए ।

बरामद भएको गाँजाको तौल लिन बाँकी छ । यद्यपि, गाँजा ४ सय ८० किलोभन्दा धेरै रहेको प्रहरीको अनुमान छ । धनकुटाबाट मोरङको बाटो हुँदै गाँजा भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीको आशंका छ ।

नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद भएको गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले लागुऔषध ओसारपसार, एम्बुलेन्सको दुरुपयोग, संलग्न अन्य व्यक्तिहरू तथा नेटवर्कबारे थप अनुसन्धान भइरहेको जनाएको छ । ‘बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गर्नु गम्भीर घटना हो,’ एसपी कटवालले भने, ‘आपतकालीन सेवा प्रदान गर्ने एम्बुलेन्सजस्तो संवेदनशील साधनलाई लागुऔषध तस्करीमा प्रयोग गरिनुले गाँजा ओसारपसार गर्नेहरु संगठित रूपमै सक्रिय रहेको देखाउँछ ।’

उनका अनुसार गाँजालगायतका लागुऔषधको ओसारपसार एवं कारोबार नियन्त्रणमा प्रहरी कठोर हिसाबले प्रस्तुत भइरहेको छ । यसमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउँदै कटवालले लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गरिएको जानकारी दिए ।

प्रहरीले मोरङको जहदा गाउँपालिका–२ तारिगामामा पनि शनिबार राति गोली हानेर गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकहरु २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको थियो । तारिगामाबाट प्रहरीले ३ सय ३० किलो गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट