काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकारदेखि खेलकुद क्षेत्रका चर्चित व्यक्तिसम्म समेटिएका छन्। बन्दसूचीमा गायक प्रकाश सपुत र क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पनि समावेश छ।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर तयार पारिएको ११० जनाको नामावली निर्वाचन आयोगमा पेश गरेको हो।
समानुपातिकतर्फ आदिवासी जनजाति पुरुष समूहको पहिलो नम्बरमा डा. राम रामा छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौं नम्बरमा परेका छन्। आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो स्थानमा छिन्।
खस आर्य पुरुष समूहको पहिलो नम्बरमा विपिन कुमार आचार्य छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौं नम्बरमा छन्। उनीभन्दा अघि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र रमेश प्रसाईंको नाम समावेश छ। खस आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा रहेकी छन्। त्यसपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धितालको नाम क्रमशः सूचीमा छ।
थारु समुदायतर्फ पुरुषमा सुरेन्द्र चौधरी र महिलामा गीता चौधरी पहिलो नम्बरमा छन्।
दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा छन् भने गायक प्रकाश सपुत दोस्रो नम्बरमा परेका छन्। प्रकाशचन्द्र परियार तेस्रो र रामजी राम चौथो नम्बरमा छन्। दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन्।
मधेशी समुदायको पुरुषतर्फ डा। नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल पहिलो नम्बरमा छन्।
त्यस्तै, मुस्लिम समुदायको पुरुषतर्फ आसिफ शाह पहिलो नम्बरमा छन् भने मिर्जा रसिद बेग दोस्रो नम्बरमा छन्। मुस्लिम महिलातर्फ समिना मिया पहिलो नम्बरमा रहेकी छन्। उनीपछि मोहना अन्सारी र समिउन निशाको नाम सूचीमा छ।




प्रतिक्रिया दिनुहोस