२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

बुधवार , पौष १६, २०८२

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ सालमा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए ।

त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा विखण्डन सुरु भएकोदेखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दी गृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । २४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ ९आत्मजीवनी० र जेल बस्दाको दैनिकी ९पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित० लेखेका थिए ।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवत्र्तकका रुपमा चिनिन्छन् ।

२०३३ साल पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट