काठमाडौं। पूर्व–पश्चिम राजमार्गको रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड करिब २४ घण्टापछि पुनः खुलेको छ ।
मंगलबार बिहान करिब ७ः५० बजे ग्याँस बुलेट पल्टिएपछि मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। राजमार्ग बन्द हुँदा सवारी साधन चालकहरू विकल्पको रूपमा लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए।
जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरका अनुसार क्रेनको सहयोगमा ग्याँस बुलेट सडकको किनारमा सारिएपछि बुधबार बिहान साढे ७ बजे राजमार्ग दुईतर्फी सवारीका लागि खुला गरिएको छ।
दुर्घटनापछि ग्यास चुहिँदा आगलागीको जोखिम बढेको हुँदा दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो। साथै, कालोपत्रे राजमार्गमा पानी छर्केर सडक सफा गरिएको छ। हाल ग्याँस बुलेट सडकको किनारमा सुरक्षित तरिकाले राखिएको छ।
प्रतिक्रिया दिनुहोस