२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

चितवनमा प्रथम राष्ट्रिय रैथाने खाना तथा कृषि पर्यटन महोत्सव हुने

बुधवार , पौष १६, २०८२

चितवन । चितवनमा प्रथम राष्ट्रिय रैथाने खाना तथा कृषि पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार तथा भरतपुर महानगरपालिकाको सहकार्यमा होटल व्यवसायी महासंघ नेपालको आयोजनामा महोत्सव हुन लागेको हो।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके र बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँबीच भएको विशेष भेटघाट तथा छलफलपछि महोत्सव आयोजना गर्ने निर्णय गरिएको हो। यसअघि अध्यक्ष चुकेको नेतृत्वमा रहेको टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितको टोलीसँग माघ २९ गतेदेखि फागुन १० गतेसम्म नारायणी नदी किनारमै महोत्सव आयोजना गर्ने मिति तय गरिसकेको थियो।

मुख्यमन्त्री बानियाले सातै प्रदेशका रैथाने खानाको संरक्षण र प्रवर्द्धनमा महोत्सव महत्वपूर्ण हुने भन्दै यसप्रति विशेष चासो व्यक्त गरेका छन्। अध्यक्ष चुकेका अनुसार भरतपुर महानगरको नारायणी नदी किनारलाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित सातै प्रदेशका रैथाने खाना, भेषभूषा तथा लोकनृत्य एकै स्थानमा प्रस्तुत गरिनेछ।

यस महोत्सवले भरतपुरलाई बहुसांस्कृतिक आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। महासंघका अनुसार महोत्सवमार्फत स्वदेशी तथा विदेशी पर्यटकले नेपालका सातै प्रदेशका मौलिक स्वाद र सांस्कृतिक पहिचान एउटै स्थलबाट अनुभव गर्न पाउनेछन्, जसले घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

महासंघले महोत्सवबाट प्राप्त आम्दानी होटल व्यवसायी महासंघको भव्य भवन निर्माणमा खर्च गर्ने जनाएको छ। भवन निर्माणका लागि बारघरेमा महासंघका प्रतिनिधिद्वारा निःशुल्क प्रदान गरिएको एक कट्ठा जग्गाको व्यवस्था समेत भइसकेको छ।

अब छिट्टै महोत्सवको संरचना, व्यवस्थापन योजना तथा सहभागी व्यवसायी र कलाकार छनोटको प्रक्रिया अघि बढाइने महासंघले जानकारी दिएको छ।

स्थानीय संस्कृति, रैथाने भोजन र लोकनृत्यलाई एकै थलोमा प्रस्तुत गर्ने यस पहलले भरतपुरको पर्यटन, व्यापार तथा स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट