विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि नेकपा एमाले ठिङ्ग उभिन सफल भएको बताएका छन् । उनले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको टिप्पणी गरे ।
प्रेस चौतारी नेपाल, मोरङ कार्यसमितिले आयोजनामा बिहिबार सम्पन्न शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा नेकपा एमालेको ११ औं महाधिवेशनमा मोरङबाट केन्द्रिय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै एमाले सचिव कार्कीले नेकपा एमाले भने धुलो टकटक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको धारणा व्यक्त गरे । उनका अनुसार मुलुक अहिले निर्वाचनको तयारीको प्रारम्भिक चरणमा प्रवेश गरिसकेको छ ।

मुख्यमन्त्रीको हैसियतमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने ठोकुवा गर्न नसक्ने बताउँदै उनले निर्वाचन भए निर्वाचनमा जाने निष्कर्षमा आफूहरू पुगेको स्पष्ट पारे । आफू आवद्ध दल नेकपा एमालेसमेत निर्वाचनको तयारीमा लागेको उनको भनाइ छ ।
तर, वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको कार्कीले बताए । उनले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गरे ।
यद्यपि, निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको र नेकपा एमाले पनि निर्वाचनमा होमिइसकेको अवस्थामा रहेको उनले जानकारी दिए । प्रदेश सरकारको सन्दर्भमा मुख्यमन्त्री कार्कीले सबै पक्षसँग छलफल गरेर आवश्यकता अनुसार अगाडि बढ्ने बताएका छन् ।

प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजार सहित प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा चौतारी मोरङले नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, क्रषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस