२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ताररहित पोखरा बनाउने अभियानका लागि आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

शुक्रवार , पौष १८, २०८२

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।

“कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भने ।

पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

पोखरालाई ताररहित बनाउन आग्रह

पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरे।

“पोखरा बजारक्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उनले भने । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताए ।

“विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उनीहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भने ।

पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताए। विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट