काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले आफू अझै माथिल्लो स्तरमा गएर ठूलो जिम्मेवारीका साथ जनताको सेवा गर्न चाहेको बताएकी छिन् । भरतपुर महानगरको सहकार्यमा सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ मा उनले यस्तो बताएकी हुन् ।
कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टको रुपमा रहेकी मेयर दाहालले आगामी निर्वाचनलाई लक्षित गर्दै ठूलो जिम्मेवारीका साथ काम गर्न चाहेको बताएकी हुन् । सहजकर्ता राजेन्द्र बानियाँले मेयरको दुई कार्यकालको १० वर्षको काम आठै वर्षमा पूरा गरेजस्तो लागेको हो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘आठै वर्षमा पूरा गरेँ भन्ने त लागेकै छैन नि ! अझै माथिल्लो स्तरबाट, अझै बढी जिम्मेवारी लिएर अझै बढी योगदान गर्ने हुटहुटी हो । यो कुनै पदको लागि होइन ।’
आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मेयर दाहाललाई चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । उनले मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी हुन् ।
प्यानल डिस्कसनमा बोल्दै उनले अहोरात्र जनताको काममा खटिँदा पनि जेनजी आन्दोलनका नाममा महानगरपालिका जनाउनु पर्ने, निजी निवास जलाउनु पर्ने के अपराध गरेका थियौँ र ? भन्दै प्रश्न समेत गरिन् ।
‘भरतपुरको विकास मोडल’ मा केन्द्रित पहिलो सेसनमा मेयर दाहालसहित, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा प्यानलिस्टका रुपमा सहभागी छन्। सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गरेका हुन् ।
सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ । तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस