युरोकप फुटबलमा आइतबार दुई खेल हुँदैछ । आइतबार समूह ‘ए’ का इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की बीच राति पौने १० बजे प्रतिस्पर्धा हुनेछ ।
रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्ला दुई खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटालीले पहिलो खेलमा टर्कीलाई तथा दोस्रो खेलमा स्विजरल्याण्डलाई समान ३-० गोल अन्तरले हराएको थियो । ६ अंक जोडेर शीर्ष स्थानमा रहेको इटालीले तेस्रो खेल पनि जिते समूह विजेता बन्नेछ ।
४ अंक जोडेको वेल्स समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ कोे बराबरीमा रोकिएको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० ले हराएको थियो । यस्तै समूह ‘ए’ कै स्वीजरल्याण्ड र टर्कीबीच आइतबार राति पौने १० बजे नै प्रतिस्पर्धा हुनेछ । यो खेल बाकुमा हुनेछ ।
२ खेलबाट १ अंक मात्र जोडेको स्वीजरल्याण्ड तेस्रो स्थानमा छ । पहिलो खेलमा वेल्ससँग बराबरीमा रोकिदै स्वीजरल्याण्डले अंक बाँडेको थियो । दोस्रो खेलमा भने इटालीसँग पराजित भएको थियो ।
यस्तै अंकबिहीन टर्की समूहको पुछारमा छ । पहिलो खेलमा इटालीसँग ३-० ले पराजित भएको टर्की दोसो खेलमा वेल्ससँग २-० ले पछि परेको हो ।
समूह चरणको अन्तिम खेलबाट प्रि-क्वाटरफाइनलमा प्रवेश गर्ने टिमको टुंगो लाग्ने छ ।
यसअघि शनिबार राति भएको खेलमा फ्रान्स र हंगेरीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै अर्को खेलमा जर्मनीले पोर्चुगललाई ४-२ ले पराजित गर्याे ।