चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चितवनलाई देशको राजधानी बनाउनुपर्ने बताएका छन् ।
भरतपुर महानगरको सहकार्यमा सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ मा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले चितवनलाई राजनीतिक राजधानी नभए पनि शिक्षा, स्वास्थ्य, पशुपालन, पोल्ट्री, धार्मिक पर्यटनजस्ता क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिने बताए।
सचिव शर्माले देशको समग्र विकासका लागि ‘भरतपुर मोडल’ अनुसरण गर्न सकिने उल्लेख गरे। भरतपुर महानगरपालिका र केन्द्र सरकारबीचको प्रभावकारी समन्वयकै कारण यहाँ विकासले तीव्रता पाएको उनको भनाइ थियो। उनले अब स्थानीय तहले संघीय सरकारसँग सहकार्य गर्दै विकासका कामलाई अझ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, उनले भरतपुरमा अव्यवस्थित प्लटिङ रोक्नुपर्नेमा जोड दिए। कृषि योग्य जमिन मासेर प्लटिङ गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसले दीर्घकालीन असर पार्ने भएकाले तुरुन्त नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।
‘भरतपुरको विकास मोडल’ मा केन्द्रित पहिलो सेसनमा सचिव शर्मासहित भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा प्यानलिस्टका रुपमा सहभागी थिए । सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गरेका थिए ।
सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ । तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस