काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने, “नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणले उक्त सूचीबाट मेरो नाम फिर्ता लिएको जानकारी गराउँछु।”
उनी युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण अभियानप्रति प्रतिबद्ध रहने पनि स्पष्ट पार्दै, आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन्।
ढकालले नवयुवाहरूको उद्यमशीलता र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने वातावरणमा आफूलाई समानुपातिक सूचीमा समावेश गरिएको भन्दै पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस