२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्...

शनिवार , पौष १९, २०८२

काठमाडौँ । राजनीतिप्रति खासै चासो नराख्ने बैतडी दशरथचन्द–६ का निरज पन्त गत भदौ २४ गते सामान्य दिनझैँ खाना खाएर हात्तीगौडास्थित आफ्नो पसल जान घरबाट निस्किएका थिए। तर, उनी न पसल पुगे न त घर नै फर्किए। काठमाडौँको ग्राण्डी चोक बस्दै आएका पन्तको महाराजगञ्जमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा गोली लागेर मृत्यु भयो।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै भदौ २३ गतेदेखि चर्किएको आन्दोलन २४ गते महाराजगञ्जमा उग्र बनेको थियो। आन्दोलनकारी र प्रहरीबिच घम्साघम्सी चलिरहेका बेला पन्त कौतूहलवश आन्दोलन हेर्न पुगेका थिए।

उनले आफू चढेको मोटरसाइकल ‘टिपटप’ नजिक राखेर भिडमा मिसिएको केही समयमै छाती र पेटमा दुईवटा गोली लाग्यो। उनको घटनास्थलमै मृत्यु भयो। उक्त घटनामा पन्तसहित चार जनाले ज्यान गुमाएका थिए।

पन्तकी श्रीमती कमला अवस्थीका अनुसार उनी पसल जान्छु भनेर हिँडेका थिए। तर, २४ घण्टासम्म उनको अवस्थाबारे परिवारलाई केही जानकारी भएन। फोन सम्पर्क नभएपछि र मान्छे घर नफर्किएपछि परिवारमा छटपटी सुरु भयो।

भोलिपल्ट महाराजगञ्जमा गोली लागेर मानिसहरूको मृत्यु भएको खबर आएपछि खोजी गर्दा शिक्षण अस्पताल (टिचिङ) मा उनको शव फेला परेको थियो। अस्पतालमा कार्यरत आफन्तले शव पहिचान गरेपछि मात्र परिवारले उनको मृत्यु भएको थाहा पाएका थिए। उनको पर्स र मोबाइल अझै भेटिएको छैन।

निरजका बुबा कीर्तिबल्लभका अनुसार छोराले आन्दोलनकारीले प्रहरीलाई कुटेको देखेपछि रोक्न खोज्दा गोली लागेको भन्ने सुनिएको छ। यद्यपि, परिवारका अनुसार निरज घरमा कहिल्यै राजनीतिक कुरा गर्दैनथे।

घटनाको अघिल्लो दिन उनले बुबाआमालाई आन्दोलन चर्किएको सुनाएका थिए र बुबाआमाले उनलाई भिडभाडमा नजान सुझाएका थिए। तर, नियतिले उनलाई त्यही भिडमा पुर्‍यायो।

साइप्रसबाट होटल म्यानेजमेन्ट पढेका र योग तथा आयुर्वेदमा रुचि राख्ने निरजले हात्तीगौडामा पतञ्जलीको पसल चलाउँदै आएका थिए। उनका एक छोरा अमेरिका र छोरी नेपालमै कानुन विषय पढ्दै छिन्।

जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले पन्तसहित आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषणा गरेको छ। सरकारले पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ भने रोजगारी र मासिक भत्ताको योजना पनि अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट