मकवानपुर । आइतबार मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटनामा परी मृत्यु हुने ६ जनाको परिचय खुलेको छ।
आइतबार साँझ १७ः२० बजे भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना भएको थियो। सुमो करिब एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये दुई जना भारतीय रहेका छन् भने दुई जनाको परिचय खुल्न बाँकी छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।
अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन सकेको छैन् । उनीहरूको हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी, हेटौंडा अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये २ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।
जिपका चालक हेटौंडा उपमहानगरपालिका–४ कर्राचोक बस्ने करिब ४०–४५ वर्षका गणेश थापा र मृतक सविता लम्सालको छोरा १२ वर्षका अभ्यास लम्साललाई भरतपुर रिफर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस